मलंगवा – मधेश प्रदेशमा निर्वाचन सुरक्षाको अवस्था बुझ्ने उद्देश्यले खटाइएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उमाप्रसाद चतुर्वेदी आज सर्लाही आइपुगेका छन्। उनले जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरूसँग भेटघाट गर्दै समग्र सुरक्षा तयारीबारे जानकारी लिएका हुन्।
विशेषगरी रौतहटमा हालै घटेको घटनापछि सर्लाहीमा सुरक्षा व्यवस्था कस्तो छ भन्ने विषयमा उनले चासो राख्दै विस्तृत विवरण मागेका थिए। भेटघाटका क्रममा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन आवश्यक रणनीतिबारे पनि छलफल भएको जनाइएको छ।

छलफलपछि एआइजी चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उपस्थित प्रहरी अधिकृतहरूलाई थप निर्देशन दिएको बताईएको छ। रौतहट घटनाको प्रभावलाई मध्यनजर गर्दै सर्लाहीका सम्पूर्ण सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालनमा रहेका छन्।





