सर्लाही – रौतहटको गौर नगरपालिका–६ स्थित सबगढा गाउँमा दुई समुदायबीच उत्पन्न विवादले निम्त्याएको तनावपछि जिल्लामा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले अपिल गरेको छ। फागुन ७ गते राति करिब ९:४५ बजेदेखि देखिएको सामान्य झडप नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो।
त्यसपश्चात् फागुन ८ गते दुवै समुदायका प्रतिनिधिबीच संवाद भई ६ बुँदे सहमति सम्पन्न भएको थियो। यद्यपि फागुन ९ गते बिहानैदेखि अवस्था पुनः संवेदनशील बन्दै गएपछि सम्भावित क्षति न्यूनीकरण गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश लागू गरिएको थियो।

आइतबार बसेको सर्वपक्षीय बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति र स्थायित्व पुनःस्थापनाका लागि सबै पक्षलाई संयमता र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेको छ। बैठकले स्थानीय अगुवा, भद्रभलादमी तथा सरोकारवालाको सक्रिय सहभागितामा औपचारिक तथा अनौपचारिक संवादमार्फत दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाएको छ।
साथै, सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय घटनालाई जिल्लाको अवस्थासँग जोडेर भ्रामक सूचना फैलाउने गतिविधिमाथि कडा निगरानी राख्ने र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउन सुरक्षा निकायलाई सहयोग गर्ने निर्णय गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको र दोषी प्रमाणित भए कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।
सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले फागुन ११ गते बिहान ७:३० बजे नागरिक समाजको नेतृत्वमा सबगढामा सद्भाव र्याली आयोजना गर्ने कार्यक्रमसमेत तय गरिएको छ। बैठकले द्वन्द्व र असमझदारीबाट हुने क्षति सम्पूर्ण समाजको साझा क्षति भएकाले आपसी सम्मान, सहिष्णुता र एकता सुदृढ गर्दै शान्तिपूर्ण वातावरण कायम राख्न सम्पूर्ण जिल्लावासीसँग हार्दिक आग्रह गरेको छ।





