होली पर्व लक्षित सर्लाही प्रशासनको सुरक्षा योजना सार्वजनिक

२०८२ फाल्गुन १३, बुधबार ०७:५४

सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाहीले होली पर्व र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन विशेष निर्देशनसहित अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ। प्रशासनले सम्पूर्ण जिल्लावासीलाई होलीको शुभकामना दिँदै अनुशासित र मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेको छ।

फागुन १९ देखि २२ गतेसम्म विदेशी नम्बर प्लेट भएका दुईपाङ्ग्रे, चारपाङ्ग्रे लगायत सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नियम उल्लङ्घन गरी त्यस्ता सवारी चलाएको भेटिएमा सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिने चेतावनी दिइएको छ।

त्यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिलाई ध्यानमा राख्दै मदिराजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ। फागुन १९ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म मदिरा बिक्री गर्न नपाइने स्पष्ट पारिएको छ।

होली मनाउने क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने, कसैको इच्छाविपरीत रङ लगाउने, लोला हान्ने, पानी वा हिलो छ्याप्ने, नमेटिने रङ प्रयोग गर्ने, जिस्काउने, जबरजस्ती नशालु पदार्थ खुवाउने, डिजे बजाउने वा कसैको निजी जीवनमा असर पर्ने गतिविधि नगर्न प्रशासनले कडा निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाद्वारा हस्ताक्षरित सूचनामा शान्ति–सुरक्षामा खलल पुग्ने कुनै पनि कार्य गरे वा गराएको पाइए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ। प्रशासनले सबैलाई सुरक्षा मापदण्ड पालना गर्दै सभ्य र जिम्मेवार ढङ्गले होली मनाउन आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार