मलंगवामा सब-ईन्जिनियर हत्या प्रकरण: आरोपमा एक जना पक्राउ

२०८२ फाल्गुन १५, शुक्रबार ०६:१७

मलंगवा – सर्लाहीको मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव–इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा प्रहरीले एक जनालाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतो रहेका छन्। उनलाई घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएको हो। उनलाई भारतीय पक्षसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

गत फागुन ३ गते भाडामा बसिरहेको कोठा मै अज्ञात व्यक्तिले यादवमाथि गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार महतोले भारतीय ‘सुटर’ प्रयोग गरी हत्या गराएको हुनसक्ने आशंका गरिएको छ। मृतक यादव र महतो दुवै लोकसेवा आयोगमार्फत एउटै पदका प्रतिस्पर्धी रहेको खुलेको छ।

सरकारी सेवामा नियुक्ति प्रक्रियासँग जोडिएको विषय नै घटनाको कारण हुनसक्ने भन्दै प्रहरीले सोही कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका महतोमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरिएको छ।

आज दिउँसो पत्रकार सम्मेलन गरेर घटनाको बिस्तृत विवरण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार