युएईमा इरानको आक्रमणमा एक नेपालीसहित तीन जनाको मृत्यु

२०८२ फाल्गुन १७, आईतवार १९:५३

सर्लाही – इरानले गरेको पछिल्लो आक्रमणका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ। यूएईको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार ज्यान गुमाउनेमा नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक जना नागरिक रहेका छन्। मृतकहरूको नाम र ठेगाना भने हालसम्म सार्वजनिक गरिएको छैन।

मन्त्रालयका अनुसार इरानबाट प्रहार गरिएका ड्रोनमध्ये केही हवाई प्रतिरक्षा प्रणाली पार गर्दै भूभागमा खसेका थिए। ती ड्रोनका अवशेष तथा विस्फोटका कारण जमिनमा क्षति पुग्दा तीन जनाको मृत्यु भएको हो। घटनामा कम्तीमा ५८ जना सामान्य घाइते भएका छन्।

यूएईले जनाएको छ कि इरानले कुल १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। तीमध्ये १५२ वटा हवाई प्रतिरक्षा प्रणालीमार्फत नष्ट गरिएको र १३ वटा समुद्रमा खसेका थिए। यसबाहेक दुई वटा क्रुज मिसाइल पनि अवरोध गरी नष्ट गरिएको मन्त्रालयले उल्लेख गरेको छ।

त्यसैगरी, इरानबाट प्रक्षेपण गरिएका ५४१ वटा ड्रोनमध्ये ५०६ वटा खसालिएको र ३५ वटा यूएईको भूभागभित्र खसेका जनाइएको छ। अवरोध गरिएका मिसाइल र ड्रोनका अवशेष खस्दा विभिन्न स्थानमा नागरिक संरचनामा सामान्यदेखि मध्यम क्षति पुगेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार