आज मध्य रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

२०८२ फाल्गुन १७, आईतवार २०:०५

सर्लाही – आज मध्यराति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाका सबै सीमानाका बन्द गरिने भएका छन्। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन अवधिभर सुरक्षा सुदृढ पार्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गराउन सीमा नाका अस्थायी रूपमा बन्द गर्न लागिएको सम्बन्धित निकायले जनाएको छ। निर्वाचन सुरक्षा निर्देशिकाअनुसार मतदान हुनुभन्दा ७२ घण्टाअघि नै अन्तर्राष्ट्रिय नाका बन्द गर्नुपर्ने व्यवस्था रहेकाले सोही प्रावधानअनुसार कदम चालिएको हो।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आज राति १२ बजेदेखि मतदान प्रक्रिया सम्पन्न नहुन्जेलसम्म सीमा नाका बन्द रहनेछन्। आयोगले उक्त निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासन र सुरक्षा निकायलाई आवश्यक समन्वय तथा व्यवस्थापन गर्न अनुरोध गरेको छ।

निर्वाचन अवधिभर सीमा क्षेत्रमा निगरानी कडा पारिने र अवाञ्छित गतिविधि रोक्न विशेष सुरक्षा योजना लागू गरिने जनाइएको छ। आयोगले शान्तिपूर्ण र व्यवस्थित मतदान सुनिश्चित गर्न सबै पक्षसँग सहयोगको अपेक्षा गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार