सर्लाही – आजदेखि देशभर एकसातासम्म लगातार सार्वजनिक बिदा परेको छ। फागुपूर्णिमा (होली), प्रतिनिधि सभा निर्वाचन, शनिबार र अन्तर्राष्ट्रिय महिला दिवस एकैसाथ जोडिँदा सात दिन लामो बिदा सुरु भएको हो।
सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन सार्वजनिक बिदा दिएको छ। निर्वाचन बिदा सुरु हुनुअघि फागुन १८ गते पहाडी जिल्लामा र फागुन १९ गते तराईका जिल्लामा होलीका अवसरमा सार्वजनिक बिदा परेको छ।

निर्वाचन बिदा सकिएलगत्तै फागुन २३ गते शनिबार परेको छ भने फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस मनाइनेछ। हरेक वर्ष मार्च ८ मा मनाइने महिला दिवसका अवसरमा नेपालमा पनि सार्वजनिक बिदा दिँदै आइएको छ।
लामो बिदाका कारण काठमाडौँ उपत्यकामा सवारी साधनको चाप घटेको छ। धेरै नागरिक होली मनाउन र निर्वाचनमा मतदान गर्न आ–आफ्नो गृहजिल्लातर्फ प्रस्थान गरेका छन्। यसैबीच, नेपाल राष्ट्र बैंक ले होली र निर्वाचनको बिदाका दिनसमेत अत्यावश्यक सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको छ।





