धनुषामा अन्तरजातीय विवाह गरेकी युवती मृत फेला: हत्या भएको माईति पक्षको आरोप, श्रीमान पक्राउ

२०८२ चैत्र ४, बुधबार १५:४१

सर्लाही – धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। घटनालाई लिएर माइती पक्षले हत्या भएको आरोप लगाएको छ भने प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिका – ४ का मुकेश धनखोटी यादवकी २५ वर्षीया श्रीमती विभाकुमारी महतो मंगलबार दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। मुकेश र विभाले करिब पाँच वर्षअघि प्रेम सम्बन्धपछि अन्तरजातीय विवाह गरेका थिए।

मृतकका दाजु मनिषकुमार महतोका अनुसार विवाहपछि लामो समयसम्म सन्तान नभएको विषयलाई लिएर विभामाथि बारम्बार शारीरिक तथा मानसिक यातना दिइँदै आएको थियो। घटनापछि उनको शरीरमा नीलडाम देखिएको भन्दै माईति पक्षले हत्या गरिएको दाबी गरेको छ।

सोही आरोपसहित मृतकका दाजु मनिषले मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा प्रहरीसमक्ष किटानी जाहेरी दिएका छन्। जाहेरीपछि प्रहरीले मुकेशलाई पक्राउ गरी घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमका अनुसार प्राप्त उजुरीका आधारमा अनुसन्धान भइरहेको र घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार