सर्लाही – मधेश प्रदेशसभामा नयाँ शक्ति सन्तुलन देखिँदै गएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभाको चौथो ठूलो दलको रूपमा स्थापित भएको छ, जससँग हाल १५ सिट पुगेको छ। यसअघि चौथो स्थानमा रहेको जनमत पार्टी अब पाँचौँ स्थानमा झरेको छ।
यो परिवर्तन दुई कम्युनिष्ट धार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीचको एकतापछि सम्भव भएको हो। दुवै दलका ७–७ सांसद र नागरिक उन्मुक्ति पार्टी का १ सांसद जोडिँदा नेकपाको संख्या १५ पुगेको हो।

यसबीच, माओवादी केन्द्रभित्रको घटबढले पनि समीकरण बदलिएको छ। २०७९ को निर्वाचनमा ९ सिट जितेको माओवादी केन्द्र अहिले ७ सिटमा सीमित भएको छ। संसदीय दलका नेता भरत साह ले पदबाट राजीनामा दिएपछि र रहबर अन्सारी ले दल त्यागेपछि संख्या घटेको हो।
साहको बहिर्गमनपछि नेकपाले संसदीय दलको नेतृत्व युवराज भट्टराई लाई सुम्पिएको छ। यसअघि उनी माओवादी केन्द्रको उपनेताका रूपमा सक्रिय थिए। साह भने प्रतिनिधि सभाको चुनावमा महोत्तरी–४ बाट पराजित भएका थिए, जबकि अन्सारी बारा–४ बाट विजयी हुँदै संघीय संसद् पुगेका छन्।
हाल मधेश प्रदेश सरकारमा नेकपाले तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ। १०७ सदस्यीय प्रदेशसभामा ६ सिट रिक्त रहेका छन्। पूर्वमुख्यमन्त्री सतिश सिंह, सभामुख रामचन्द्र मण्डल, साथै पूर्वमन्त्री साह र अन्सारीले प्रतिनिधि सभा चुनावका लागि राजीनामा दिएका थिए भने अभिराम शर्मा र सरोज सिंह निलम्बनमा छन्।
हालको शक्ति सन्तुलनअनुसार प्रदेशसभामा नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपाल का १९, नेकपाका १५, जनमतका १२, लोसपाका ८ र नेपाल संघीय समाजवादीको १ सिट रहेको छ। केन्द्रमा लोसपा र जसपा एकीकृत भइसके पनि प्रदेशमा भने यसको औपचारिक समायोजन हुन बाँकी छ।





