सर्लाही – अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा सर्लाहीका एकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सर्लाही ईश्वरपुर नगरपालिका – ३ घर भई हाल ललितपुर बस्दै आएकी ३० वर्षीया दिप्ती पोखरेल, भारत पश्चिम बंगालका ४१ वर्षीय प्रवेश अली र बाँके नेपालगञ्जका ३१ वर्षीय नरेश रेउले रहेका छन्।

हुण्डी तथा अभौतिक मुद्रा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा नरेश रेउलेलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा नरेशले प्रवेश अली र दिप्ती पोखरेलका लागि यूएसडीटी (USDT) खरिद–बिक्री गर्दै आएको खुलेको थियो। त्यसपछि प्रहरीले दिप्तीलाई सामाखुशीस्थित रेडहनपुलबाट १५ लाख ३० हजार रुपैयाँ नगदसहित पक्राउ गर्यो भने प्रवेश अलीलाई ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा प्रवेश अलीले आफ्नो मोबाइलबाट ‘बाइनान्स’ आईडी प्रयोग गरी हालसम्म १ अर्ब ३६ करोड ८० लाख रुपैयाँभन्दा बढी बराबरको कारोबार गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।





