सर्लाही – सर्लाहीका एक जना लागूऔषध खैरो हेरोइनसहित झापामा पक्राउ परेका छन्। जिल्लाको मेचीनगर नगरपालिका – ६ स्थित पुरानो मेची पुलबाट लागूऔषधसहित सर्लाहीका एक जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका – ४ सागरनाथ टोल घर भई हाल अर्जुनधारा नगरपालिका – ११ बसपार्क क्षेत्रमा डेरा गरी बस्दै आएका ३१ वर्षीय सनम बुर्जा मगर रहेका छन्।

आइतबार साँझ लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका मगरलाई जाँच गर्दा उनको साथबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ ग्राम ७७० मिलिग्राम बरामद गरेको हो।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित मगरलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका मगरमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





