आज चैती छठको मुख्य दिन, साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

२०८२ चैत्र १०, मंगलवार ०९:०७

सर्लाही – तराई – मधेससहित देशका विभिन्न स्थानमा श्रद्धा र भक्तिपूर्वक मनाइँदै आएको चैती छठ पर्वको आज मुख्य दिन साँझ ब्रतालुहरुले अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिदैछन् । चार दिनसम्म चल्ने यस पर्वको तेस्रो दिन अर्थात् षष्ठी तिथिका अवसरमा व्रतालुहरूले आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गर्दै विशेष पूजा आराधना गर्दैछन्।

छठ पर्वको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा चिनिने आज ‘सँझीया घाट’मा व्रतालुहरू नदी, पोखरी तथा तलाउ किनारमा निर्माण गरिएका छठघाटमा पुगेर सूर्यदेव र छठी माताको पूजा गर्छन्। तराई – मधेशका बिभिन्न स्थानहरूमा रहेका घाटहरूमा बिहानैदेखि सरसफाइ, सजावट र तयारी तीव्र पारिएको छ।

अर्घ्य अर्पणका लागि व्रतालुहरूले गहुँ वा चामलको पिठोबाट बनाइने ठेकुवा, साथै विभिन्न फलफूल र सामग्रीहरू तयार पार्छन्। मुला, गाजर, नरिवल, केरा, सुन्तला, उखु, स्याउ, सुथनी, पानी सिंगडा लगायतका सामग्रीलाई प्रसादका रूपमा प्रयोग गरिन्छ। यी वस्तुहरूलाई पवित्रता र प्राकृतिक स्रोतप्रतिको सम्मानको प्रतीक मानिन्छ।

व्रतालुहरू निर्जला व्रत बसेर आज साँझ पानीमै उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। यसअघि दोस्रो दिन खीर (रसीआव) र रोटी प्रसादका रूपमा तयार गरी चन्द्रमालाई अर्पण गरिएको थियो। छठ पर्वको समापन भने भोलि बिहान हुनेछ।

सप्तमी तिथिमा व्रतालुहरूले पुनः घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि व्रत विधिवत रूपमा समाप्त हुन्छ। आइतबारदेखि सुरु भएको चैती छठ पर्वको पहिलो दिन ‘नहाए खाए’का रूपमा मनाइन्छ, जसमा व्रतालुहरूले स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्।

सत्य, अहिंसा र प्रकृतिप्रतिको श्रद्धा झल्काउने यो पर्व वर्षमा दुई पटक ( कात्तिक र चैत ) मा मनाउने गरिन्छ। छठ व्रत बस्दा दुःख, कष्ट र दरिद्रताबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार