धनुषाको सबैला नगरपालिकामा बाख्रा वितरण घोटाला: वडाध्यक्षसहित तीन जना दोषी ठहर, एक वर्ष कैद सजाय

२०८२ चैत्र १०, मंगलवार २०:२४

सर्लाही – धनुषाको सबैला नगरपालिकामा बाख्रा तथा च्यापकटर मेसिन वितरणका नाममा भएको अनियमितता प्रकरणमा विशेष अदालतले तत्कालीन वडाध्यक्ष, इन्जिनियर र सहकारी अध्यक्षसहित तीन जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको छ।

मंगलबार अदालतका अध्यक्ष सुदर्शनदेव भट्टराई तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले उक्त फैसला गरेको हो।

सबैला नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष दुर्गाप्रसाद राय, इन्जिनियर रन्जित कुमार यादव र अर्चना कृषि सहकारीकी अध्यक्ष संजु कुमारी यादवलाई जनही एक वर्ष कैद र ४ लाख ९२ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको छ।

यसका साथै, उनीहरूबाट जनही १९ हजार ७ सय रुपैयाँ क्षतिपूर्ति असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश दिइएको छ। कुल बिगो रकम १४ लाख ७७ हजार ५ सय रुपैयाँ बराबर रहेको र सो रकम तीनै जनाबाट बराबर रूपमा असुल गरिने अदालतको फैसलामा उल्लेख छ ।

यद्यपि, सोही मुद्दामा मुछिएका तत्कालीन लेखापाल शिवकुमार झा, पशु प्राविधिक राजकिशोर सल्हैता, पलवी ठाकुर र रौतित ठाकुरलाई भने प्रमाण अभावका कारण अदालतले सफाइ दिएको छ।

दोषी ठहर भएका तीन जनाबीच मिलेमतो भई बाख्रा, पाठा, खसी तथा च्यापकटर मेसिन खरिद नगरी नक्कली बिल र भरपाई तयार पारेर सरकारी रकम हिनामिना गरिएको पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार