मधेशबाट ८७ हजार ५९१ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै

२०८२ चैत्र ११, बुधबार २१:०४
File image

सर्लाही – आगामी १९ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मधेश प्रदेशबाट ८७ हजार ५९१ विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा नजिकिँदै जाँदा प्रदेशभर आवश्यक तयारी तीव्र पारिएको छ।

शिक्षा विकास निर्देशनालय जनकपुरधामका अनुसार यस वर्ष १ हजार ३१६ विद्यालयका विद्यार्थीले परीक्षा दिनेछन्। परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन प्रदेशभर २९९ परीक्षा केन्द्र तोकिएका छन्।

परीक्षा सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन पनि गरिएको छ। निर्देशनालयले २९९ केन्द्राध्यक्ष, ४३३ सहायक केन्द्राध्यक्ष, ४ हजार २३५ निरीक्षक, ७३४ परीक्षा सहायक र १ हजार ६०३ कार्यालय सहयोगी परिचालन गर्ने जनाएको छ। त्यस्तै, परीक्षा सुरक्षाका लागि ४ हजार ४८५ सुरक्षाकर्मी खटाइनेछन्।

जिल्लागत रूपमा धनुषाबाट सबैभन्दा बढी १३ हजार २६२ विद्यार्थी सहभागी हुनेछन् भने सप्तरीबाट सबैभन्दा कम ९ हजार २७६ विद्यार्थी परीक्षा दिनेछन्। त्यसैगरी सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाबाट पनि उल्लेख्य संख्यामा विद्यार्थी परीक्षा सहभागी हुनेछन्।

गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थी संख्या केही घटेको छ। अघिल्लो वर्ष ८८ हजार ८५८ विद्यार्थी सहभागी भएका थिए भने यस वर्ष १ हजार २६७ ले कमी आएको हो। परीक्षा निष्पक्ष, अनुशासित र व्यवस्थित बनाउन आठवटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिमार्फत नियमित अनुगमन गरिने बताईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार