सडक विभागको लापरवाहीले पत्रकार पौडेल दाजुभाई घाईते, उपचारको प्रवन्ध मिलाउन महासंघको माग

२०८२ चैत्र १३, शुक्रबार ०९:३२

सर्लाही – नेपाल पत्रकार महासंघ सर्लाही शाखाले महोत्तरीमा सडक विस्तारको क्रममा ढलेको रुखले च्यापिएर पत्रकार प्रेमनाथ पौडेल र उनका दाजु घाइते भएको घटनालाई सडक विभागको लापरवाहीको कारण घटेको ठहर गर्दै उनीहरूको उपचारको पूर्ण व्यवस्था मिलाउन जोडदार माग गरेको छ।

महासंघले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै घाइते पत्रकार पौडेल दाजुभाईको सम्पूर्ण उपचार प्रवन्ध गर्न र उचित क्षतिपूर्ति दिलाउन समेत माग गरेको हो ।

हरिवन नगरपालिका – ४ निवासी पौडेल दाजुभाइ बुधबार सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गर्दा महोत्तरीको लक्ष्मीनियाँ चोक नजिक पूर्व–पश्चिम लोकमार्गमा दुर्घटनामा परेका हुन्। सडक विभागले काट्दै गरेको रुख अचानक ढल्दा उनीहरू सवार प्रदेश २–०३–०१८ प ५४२९ नम्बरको मोटरसाइकलमाथि खसेको थियो।

दुर्घटनामा दुवै जना सख्त घाइते भएका थिए। तत्काल सडक विभागका कामदारहरूले उद्धार गरी बर्दिवासस्थित जनसेवा अस्पताल पुर्‍याए। पौडेलको दाहिने कुहिनामा गहिरो चोट र कम्मरमुनी दाहिने खुट्टाको हड्डी भाँचिएको बुझिएको बिज्ञप्तिमा उल्लेख छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

महासंघले घटनामा सडक विभागको पूर्ण जिम्मेवारी रहेको भन्दै दोषी कर्मचारी र कामदारमाथि छानबिन गरी कारबाही गर्न प्रशासनसँग जोडदार माग गरेको छ। साथै, घाइते पत्रकार दाजुभाइको उपचार र उचित क्षतिपूर्ति दिलाउन जोडदार माग गरेको छ।

महासंघले घाइते पत्रकार पौडेल र उनका दाजुको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार