मलंगवा – देशभरि राजनीतिक उथलपुथल तीव्र बन्दै जाँदा मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वऊर्जामन्त्री दिपक खड्का पक्राउ परेपछि सुरक्षा निकाय उच्च सतर्कतामा गएको हो।
प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार मधेसका सबै जिल्लामा प्रहरीलाई ‘हाइ एलर्ट’ मा राखिएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार सम्भावित विरोध प्रदर्शन र राजनीतिक गतिविधिलाई ध्यानमा राख्दै सुरक्षात्मक तयारी तीव्र बनाइएको हो।

सुरक्षा स्रोतले दिएको जानकारीअनुसार अबको लक्ष्यका रूपमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि पनि कारबाहीको आन्तरिक तयारी भइरहेको बताइएको छ। थापा भुटानी शरणार्थी प्रकरणसँग जोडिएका छन् भने यादव गौर घटनासँग सम्बन्धित मुद्दामा तानिन सक्ने संकेत गरिएको छ।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ को नेतृत्वमा सुरक्षा संयन्त्र सक्रिय बनेको छ। त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाह ले पदभार सम्हालेपछि उत्पन्न राजनीतिक परिस्थितिले सुरक्षा चुनौती थप बढाएको विश्लेषण गरिएको छ।
प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाका अनुसार आठवटै जिल्लामा प्रहरी संयोजनलाई बलियो बनाइएको छ भने सबै प्रहरी कर्मचारीको बिदा समेत स्थगित गरिएको छ। उनले प्रत्येक गतिविधिमा निगरानी बढाइएको र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गरिने बताए।
यसअघि भएको आन्दोलन र त्यससँग सम्बन्धित घटनाको छानबिनपछि शीर्ष नेताहरूको पक्राउ भएको हो। पछिल्लो घटनाक्रमले मधेसमा आन्दोलन चर्किने सम्भावना बढेपछि सुरक्षा निकायले पूर्वतयारीलाई प्राथमिकता दिएको छ।





