सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेस केन्द्रित समसामयिक विषयमा केन्द्रित गरी विभिन्न राजनीतिक नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । मंगलबार बिहान बुढानिलकण्ठस्थित निवासमा सभापति लामिछानेले राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरसँग भेटवार्ता गरेका हुन् ।
भेटमा वर्तमान राजनीतिक अवस्था, मधेसको विकास तथा प्राथमिकता दिनुपर्ने योजना लगायत विषयमा छलफल भएको जनाइएको छ । पछिल्लो जनादेशअनुसार समग्र विकासका लागि सहकार्य गर्दै अघि बढ्ने विषयमा दुवै पक्ष एकमत भएका छन् ।

त्यसैगरी, सोही दिन आम जनता पार्टीका अध्यक्ष प्रभू साहसँग पनि लामिछानेले भेटवार्ता गरेका छन् । भेटका क्रममा सभापति लामिछानेले सरकारले मधेसलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका थिए ।
देश र विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले त्यसलाई आत्मसात् गर्दै पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको उनको सचिवालयले जनाएको छ । भेटका क्रममा अध्यक्ष साहले सभापति लामिछानेलाई बधाईसमेत दिएका थिए ।





