सर्लाहीमा तीव्र हावाहुरीको सम्भावना, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

२०८२ चैत्र २१, शनिबार १७:३७

मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

कार्यालयले आज ( शनिबार ) एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सर्लाहीसहित रौतहट र महोत्तरी आसपासका क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टा गतिमा हावाहुरी चल्न सक्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको प्रशासनले जनाएको छ। सम्भावित क्षति न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्क रहन, सुरक्षित स्थानमा बस्न तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार