सर्लाही – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा परिषद्मार्फत बायो घुम्ती शौचालय खरिद प्रक्रियामा अनियमितता भएको पाइएको छ। सार्वजनिक खरिद ऐनको मापदण्ड विपरीत प्रतिस्पर्धा नगराई सोझै खरिद प्रक्रिया अपनाइएको र त्यस क्रममा सरकारी रकम हिनामिना गरिएको आरोप लगाइएको छ।

अनुसन्धानबाट दुई थान बायो घुम्ती शौचालय खरिद गर्दा वास्तविक मूल्यभन्दा धेरै बढी रकम भुक्तानी गरिएको खुलेको छ। भारतस्थित आपूर्तिकर्ताबाट कम मूल्यमा उपलब्ध हुने सामग्रीलाई मिलेमतोमा अस्वाभाविक रूपमा महँगो मूल्यमा खरिद गरिएको आयोगको दाबी छ।
यस प्रकरणमा तत्कालीन अध्यक्ष शालीग्राम सिंह, कार्यकारी निर्देशक बलराम ठाकुर, प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुंगाना, लेखापाल सावित्रीकुमारी गिरी, खरिदार मदनकुमार चौधरी सुडी तथा आपूर्तिकर्ता कम्पनीका सञ्चालक पशुपति नाथलाई प्रतिवादी बनाइएको छ।
यसैबीच, पोर्टेबल शौचालय खरिदसँग सम्बन्धित अर्को प्रकरणमा समेत अनियमितता भेटिएको भन्दै सिंहसहित पाँच जनाविरुद्ध थप मुद्दा दायर गरिएको छ। उक्त प्रकरणमा पनि कम मूल्यमा उपलब्ध हुने सामग्रीलाई उच्च मूल्यमा खरिद गरिएको अभियोग आयोगले लगाएको छ।





