सरसफाइदेखि खानेपानीसम्ममा सुधारको माग राख्दै युवाहरूले बुझाए नगरपालिकामा ज्ञापनपत्र

२०८२ चैत्र २४, मंगलवार २०:१७

मलंगवा – सरसफाइदेखि खानेपानीसम्मका आधारभूत सेवामा सुधारको माग गर्दै गोडैता नगरपालिकामा स्थानीय युवाहरूले ज्ञापनपत्र बुझाएका छन्। मंगलबार ‘जेन्जी संघर्ष समिति’को नेतृत्वमा पुगेका युवाहरूले नगरप्रमुख देवेन्द्र कुमार यादव समक्ष १० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन्।

समितिका अध्यक्ष बेद प्रकाश झाले नगरभित्र देखिएका समस्या तत्काल समाधान गर्नुपर्ने आवश्यकता औंल्याउँदै सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउन, लामखुट्टे नियन्त्रणका लागि नियमित रूपमा औषधि छर्किने व्यवस्था मिलाउन र नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउनुपर्ने माग राखेका छन्।

युवाहरूले नगर क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामेराहरूको मर्मतसम्भार गरी नियमित सञ्चालनमा ल्याउन, बिग्रिएका सडक बत्ती मर्मत गर्न तथा ढल निकास प्रणालीलाई व्यवस्थित बनाउन पनि माग गरेका छन्। साथै, सार्वजनिक स्थलहरूको संरक्षण र स्वास्थ्य सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने विषय पनि ज्ञापनपत्रमा समेटिएको छ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख यादवले युवाहरुका माग पुरा गर्ने आश्वासन दिएको समितिका अध्यक्ष झाले जानकारी दिए। समितिले आफ्ना मागहरूलाई यथाशीघ्र सम्बोधन गर्न नगरपालिकासँग आग्रह गर्दै बेवास्ता गरिए चरणबद्व आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार