सर्लाही – मधेस प्रदेश सरकारका अर्थमन्त्री महेशप्रसाद यादवले पत्रकारहरूको हकहित, पेशागत सुरक्षा तथा प्रेस स्वतन्त्रताको संरक्षणप्रति प्रदेश सरकार सधैं सकारात्मक र प्रतिबद्ध रहेको बताएका छन्।
मंगलबार धनुषाको ढल्केवरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताए। उनले सञ्चारकर्मीहरूले भोगिरहेका समस्या र चुनौतीप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै समाधानका लागि आवश्यक नीतिगत तथा संरचनागत सुधार गरिने स्पष्ट पारे।

मन्त्री यादवले पत्रकारहरूको क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा तथा पेशागत सुरक्षालाई प्राथमिकतामा राखिएको जनाउँदै सञ्चार क्षेत्र बलियो भए मात्र सुशासन र पारदर्शिता सुनिश्चित गर्न सकिने बताए। साथै, सूचना प्रवाहलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमसँग सहकार्य बढाउनेतर्फ सरकार केन्द्रित रहेको पनि उनले जानकारी दिए।
कार्यक्रममा सहभागी पत्रकारहरूले उठाएका समस्या तथा सुझावहरूलाई सकारात्मक रूपमा लिएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री यादवले पत्रकारिता क्षेत्रलाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।





