मलंगवा – भूमि व्यवस्थापनसँग सम्बन्धित कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेश निषेध गर्न सरकारको स्पष्ट निर्देशन भए पनि जिल्लाका विभिन्न सरकारी निकायमा बिचौलियाको गतिविधि अझै रोकिएको छैन।
गत बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत, नापी लगायतका कार्यालयमा बिचौलिया निषेध गर्न निर्देशन जारी गरेको थियो। तर सर्लाहीका केही कार्यालयमा उक्त निर्देशन कार्यान्वयन प्रभावकारी रूपमा हुन नसकेको देखिएको छ।

गत आईतबार मात्रै जिल्ला सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय तथा यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट प्रहरीले ९ जना बिचौलियालाई पक्राउ गरेको छ। उनीहरू सेवाग्राहीलाई काम छिटो गराइदिने भन्दै रकम असुल्दै आएको आरोप छ।
यस्तै, बरहथवास्थित नापी कार्यालय परिसरमा पनि बिचौलियाको सक्रियता घटेको छैन। लेखापढी व्यवसायीको नाममा बस्ने केही व्यक्तिहरूले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराइदिने बहानामा अतिरिक्त रकम लिने गरेको स्थानीयले गुनासो गरेका छन्।
त्यहाँ, बिचौलियाहरुले काम सहज रुपमा गरिदिने बहानामा सेवाग्राहीबाट करिव २ हजारदेखि २५ सय सम्म रकम अशुल्ने गरेको पाईएको छ। सेवाग्राहीलाई कार्यालयका प्रमुखले समेत उहाँ ( बिचौलिया ) संग मिलेर काम गर्न लगाउने गरेको स्थानीयहरु बताउछन।
यस्तै, जिल्लाका अन्य यातायात व्यवस्था कार्यालयदेखि त्यहाँको ट्रायल सेन्टरसम्म, भूमि सुधार तथा मालपोत लगायतका कार्यालयमा समेत बिचौलिया अझै सक्रिय छन्।
सरकारी कार्यालयमा बिचौलियाको पहुँचले सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्। कानुनी रूपमा निःशुल्क वा न्यून शुल्कमा हुने सेवाका लागि समेत अतिरिक्त रकम तिर्न बाध्य बनाइएको भन्दै सर्वसाधारण आक्रोशित छन्।





