मलंगवा – सर्लाहीमा अवैध रूपमा ओसारपसार भइरहेको काठसहित एक ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गत मंगलबार राति उक्त काठसहित ट्याक्टर नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार विष्णु गाउँपालिका – २ नदियापकडीस्थित बिओपीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ज १ त २९४९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो। ट्याक्टरमा गोडैताबाट फुलपरासीतर्फ लैजाँदै गरिएको १३६ क्युबिक फिट सिमल र गुलर जातको गोलिया काठ फेला परेको जनाइएको छ।

बरामद काठको मूल्य ६८ हजार ३३० रुपैयाँ आँकलन गरिएको छ भने ट्याक्टरको मूल्य करिब १० लाख रुपैयाँ रहेको छ। यसरी काठ र ट्याक्टरसहित कुल १० लाख ६८ हजार ३३० रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको काठ तथा ट्याक्टरलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन डिभिजन वन कार्यालय लालबन्दीमा बुझाइएको छ।





