समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हाे – प्रचण्ड

२०८३ बैशाख ९, बुधबार ०७:५८
file image

सर्लाही – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले पार्टीको ७७औं स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता औँल्याए । उनले न्याय, स्वतन्त्रता र समानताको आन्दोलनमा जीवन उत्सर्ग गर्ने हीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग तथा शहीद परिवारप्रति सम्मान व्यक्त गरे ।

सन्देशमा वि.सं. २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले नेपाली क्रान्तिको मार्गदर्शन गर्दै सामन्ती शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरेको उल्लेख गरिएको छ । प्रचण्डले वर्तमान समयमा शोषण, दमन र विभेदका नयाँ रूपहरू देखा परेको उल्लेख गर्दै जनताको वास्तविक सत्ता अझ पूर्ण रूपमा स्थापित हुन नसकेको बताएका छन् ।

‘आज शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेका छन् । साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन सकेको छैन। त्यसैले समाजमा विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ।अर्कोतर्फ, वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक र फासिवादी दिशातिर अगाडि बढिरहेको सन्दर्भमा महान् लेनिनका शिक्षा र आदर्श अझ सान्दर्भिक बनेका छन्,’ सन्देशमा उल्लेख छ ।

उनले सबै कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूलाई समाजवाद र साम्यवादको लक्ष्यसहित एकताहुन आजको ऐतिहासिक आवश्यकता रहेको उल्लेख गरे । साथै, नेपाली जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा विकासका लागि प्रगतिशील शक्तिहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । – नेपाल न्यूज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार