सर्लाही – धनुषामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन्। प्रहरीका अनुसार जिल्लाको गणेशमान चारनाथ नगरपालिका – ४ स्थित पूर्वपश्चिम लोकमार्गमा शनिबार दिउँसो बस र मोटरसाइकल ठोक्किएका हुन्।
चितवनबाट गाईघाटतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको बताईएको छ। दुर्घटनामा महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी २१ वर्षीय अतुल चौधरीको मृत्यु भएको छ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। अस्पतालमा पुराउने बित्तिक्कै चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकलमा पछाडि सवार जलेश्वर नगरपालिका – १ की २३ वर्षीया राघनी कुमारी महत्तो गम्भीर घाइते भएकी छन्।
उनको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।





