मलंगवा – गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सर्लाही आएका नेपाली कांग्रेसका सभापति गगन थापा निर्वाचन सकिन नपाउँदै काठमाडौं फर्किएका थिए। मतगणना जारी रहँदा नै हारको संकेत पाएपछि फर्किएका थापा त्यसयता हालसम्म एकपटक पनि सर्लाही आएका छैनन।
निर्वाचन अभियानका क्रममा उनले विभिन्न चुनावी सभा, घरदैलो तथा सञ्चारमाध्यमसँगको संवादमा आफू “सर्लाहीको बेटा बन्न आएको” बताउँदै आएका थिए। तर परिणाम आफ्नो पक्षमा नआउने संकेत देखिएपछि फर्किएका थापा झण्डै दुई महिना बितिसक्दा पनि पुनः जिल्लामा फर्किएका छैनन।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही – ४ बाट उम्मेदवार रहेका थापा अमरेश कुमार सिंहसँग भारी मतान्तरले पराजित भएका थिए। निर्वाचनअघि नै यस क्षेत्रका केही स्थानीयले थापालाई ‘बाहिरको उम्मेदवार’ भन्दै जिते पनि हारे पनि पुनः सर्लाही नआउने टिप्पणी गरेका थिए।
हालसम्म थापा जिल्लामा नफर्किएपछि उनको त्यतिबेलाको प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेको छ।





