जाजरकोट – कक्षा १२ को राष्ट्रिय परीक्षाबाट जाजरकोटका विद्यार्थी वञ्चित हुनुको पछाडि विद्यालयकै चरम लापरवाही र गैरजिम्मेवारीपूर्ण कार्य रहेको पाईएको छ। कुशे गाउँपालिका – २, टालेगाउँस्थित श्री मान्ने ढुंगा माध्यमिक विद्यालयले केही विद्यार्थीको परीक्षा आवेदन फारमसंगै कागजात नै राष्ट्रिय परीक्षा बोर्डमा नपठाएको पुष्टि भएको छ।
प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार विद्यालयले सुरुमा १३६ जना विद्यार्थीको नाम अनलाइनमा दर्ता गरे पनि पछि ११९ जनाको मात्र राजस्व संकलन गरी आवश्यक कागजात बोर्डमा पठाएको देखिएको छ। ती विद्यार्थीहरूको मात्र प्रवेशपत्र आएर परीक्षा दिइरहेका छन् भने बाँकी विद्यार्थीहरू कागजात नपठाइएकै कारण परीक्षा दिनबाट वञ्चित भएका छन्।

अझ गम्भीर कुरा के छ भने, अघिल्लो वर्ष नै कक्षा १२ उत्तीर्ण गरिसकेका एक विद्यार्थीको समेत फारम भरेर बोर्डमा पठाइएको भेटिएको छ। प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी नरेश कुमार भट्टराईका अनुसार उक्त त्रुटि भेटिएपछि ती विद्यार्थीको परीक्षा रद्द गरिएको छ।
”अन्य विद्यार्थीको कागजात किन नपठाएको हो ? भनेर बुझ्दा विद्यालयले उनीहरूले कागजात नबुझाएको भन्दै पत्र पठाएको” उनले बताए। तर पीडित विद्यार्थीहरू अनुसार परीक्षा आवेदन फारम खुलेको केही दिनमै सबै प्रक्रिया पूरा गरी विद्यालयका कर्मचारी घनश्याम सिंहलाई बुझाइएको थियो।
“फारम छुट्न नदिन भनेर हामीले पटक पटक प्रधानाध्यापक सुरेन्द्र बहादुर सिंहलाई समेत आग्रह गरेका थियौं,” एक विद्यार्थीले भने, “तर अन्तिममा हाम्रो फारमसंगै कागजात नै पठाईएन छ, यदि फारमसंग कागजात थिएनन भने बिद्यालयले हामीलाई जानकारी गराउनु पर्थो एक चोटी पनि उक्त कुरा भनिएन र कागजात समेत फारमसंगै बुझाएको उनीहरुले बताएका छन्।
विद्यार्थीहरूले प्रति व्यक्ति दुई हजार रुपैयाँका दरले राजस्व बुझाएको दाबी गर्दै बिलसमेत नदिएको गुनासो गरेका छन्। “हामीले सबै प्रक्रिया पूरा गर्दा पनि परीक्षा दिनबाट वञ्चित हुनुपर्यो, यो सरासर अन्याय हो,” उनीहरूले भने।
स्थानीय बासिन्दा तथा अभिभावकहरूले विद्यालय प्रशासनको लापरवाहीले विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष खेलवाड भएको आरोप लगाएका छन्। उनीहरूले दोषीमाथि कडा कारबाही गर्न र पीडित विद्यार्थीलाई न्याय दिन सम्बन्धित निकायसँग माग गरेका छन्।
परीक्षा जस्तो संवेदनशील विषयमा यस्तो चरम लापरवाही हुनु गम्भीर प्रश्नको विषय बनेको छ। सम्बन्धित निकायहरू मौन बसेको अवस्थामा निर्दोष विद्यार्थीले वर्षदिनको मेहनत गुमाउनुपरेको छ, जसले शिक्षा प्रणालीकै विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
बिद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर सिंहले भने यसघि नै केहि कागजात छुटेका कारण केहि बिद्यार्थीको प्रवेश पत्र नआएको हुन् सक्ने बताएका थिए। देशैभर आजबाट कक्षा १२ को परिक्षा सुरु भएको छ भने यस बर्ष देशभरबाट कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका छन्। – नेपाल न्यूज बैंक





