जिउँदो व्यक्तिको मृत्यु दर्ता गराएको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

२०८३ बैशाख १५, मंगलवार २०:२४
साङ्केतिक तस्बिर

सर्लाही – पश्चिम नवलपरासीमा जिउँदो व्यक्तिको झुट्टा मृत्यु दर्ता गराएको आरोपमा सुस्ता गाउँपालिका – ५ का वडाध्यक्ष प्रभुनाथ अहिरसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा सचिव संजयकुमार चौधरी, स्थानीय ५५ वर्षीय छोटे खाँ तथा यसअघि नै पक्राउ परिसकेका ३१ वर्षीय तारिख मियाँ अन्सारी रहेका छन्।

जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेपछि उनीहरूलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए।

प्रहरीका अनुसार तारिख मियाँ अन्सारीले आफ्नो पिताको मृत्यु भएको भन्दै वडा कार्यालयमा अर्का ६६ वर्षीय व्यक्तिको नाममा गत वर्ष मङ्सिर ७ गते मृत्यु दर्ता गराएका थिए। तर अनुसन्धानका क्रममा मियाँका पिताको भने २०६० सालमै मृत्यु भइसकेको खुलेपछि घटनाले नयाँ मोड लिएको हो।

घटना सार्वजनिक भएपछि मृत्यु दर्तामा नाम उल्लेख गरिएका वृद्धका छोराले गत वर्ष चैतमा प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरीले मृत्यु दर्ताको मुचुल्कामा साक्षी बस्ने छोटे खाँलाई पनि पक्राउ गरेको जनाएको छ। घटनामा साक्षीका रूपमा हस्ताक्षर गर्ने अन्य सात जना भने फरार रहेका छन्।

प्रहरीका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुट्टा विवरण पेस गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार