सर्लाही – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश मानसरोवर यात्राबारे नेपालले पठाएको कूटनीतिक पत्रको भारतले औपचारिक प्रतिक्रिया दिएको छ। भारतको विदेश मन्त्रालयले सोमबार राति विज्ञप्ति जारी गर्दै नेपाल सरकारको परराष्ट्र मन्त्रालयले व्यक्त गरेको धारणा सम्बन्धी सञ्चारमाध्यमको जिज्ञासामा आफ्नो धारणा सार्वजनिक गरेको हो।
भारतले लिपुलेक मार्ग नयाँ विषय नभएको दाबी गर्दै सन् १९५४ देखि नै उक्त मार्ग कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको जनाएको छ। विज्ञप्तिमा दशकौँदेखि निरन्तर रूपमा यही मार्ग प्रयोग गरेर यात्रा सञ्चालन भइरहेको उल्लेख गर्दै यसलाई विवादको नयाँ आधार बनाउन नसकिने बताइएको छ।

सीमा सम्बन्धी विषयमा भारतले नेपालको दाबीलाई ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने दाबी गरेको छ। एकतर्फी रूपमा सीमाक्षेत्र विस्तार गर्ने प्रयास स्वीकार्य नहुने उल्लेख गर्दै भारतले नेपालसँग रहेका सबै द्विपक्षीय विषयमा संवादमार्फत समाधान खोज्न आफू प्रतिबद्ध रहेको जनाएको छ। साथै बाँकी रहेका सीमा विवादलाई कूटनीतिक र वार्ताको माध्यमबाट समाधान गर्न भारत तयार रहेको पनि स्पष्ट गरिएको छ।
यसअघि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले आइतबार भारत र चीनलाई विरोधपत्र पठाएको जानकारी दिएको थियो। मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागिएको विषयमा नेपालको स्पष्ट धारणा दुवै देशसमक्ष कूटनीतिक माध्यमबाट पुनः राखिएको जनाएको थियो।
यो पनि पढ्नुहोस :
– लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राबारे परराष्ट्र मन्त्रालयको गम्भीर ध्यानाकर्षण





