सर्लाही – मधेश प्रदेशको सत्ता समीकरण फेरिने संकेत देखिएको छ । सरकारमा सहभागी जनमत पार्टीले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई सकेको छ, भने अब जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि सरकारबाट बाहिरिने तयारीमा रहेको स्रोतले जनाएको छ ।
जनमत पार्टीले समर्थन फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकेको छ । प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहालका अनुसार पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र कार्यालयमा दर्ता भएको हो । पत्र ढिलो प्राप्त भएका कारण औपचारिक जानकारी भने केही समयपछि सार्वजनिक गरिने उनले बताए ।

प्रदेशसभामा १२ सांसद रहेको जनमत पार्टी अहिले सरकारमा सहभागी छ । पार्टीबाट महेश यादव अर्थमन्त्री तथा वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीमा छन् । प्रमुख सचेतक सिंहले पार्टी अध्यक्ष डा. सीके राउतसँगको परामर्शपछि समर्थन फिर्ता लिने निर्णय गरिएको बताएका छन् ।
यता, जनता समाजवादी पार्टी नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी तीव्र बनाएको छ । जसपाले आफ्ना सांसदहरूको हस्ताक्षर सोमबार नै संकलन गरिसकेको र मंगलबार प्रदेश प्रमुखसमक्ष समर्थन फिर्ताको पत्र बुझाउने तयारी गरेको बताइएको छ ।
जनमत र जसपा दुवैले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकार स्पष्ट रूपमा अल्पमतमा पर्नेछ । राजनीतिक वृत्तमा एमालेको समर्थनमा जसपा नेपाल र जनमतसहित नयाँ सरकार गठनको गृहकार्य सुरु भएको चर्चा छ ।
गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादव नेतृत्वको सरकार ६ महिना नपुग्दै संकटमा परेको हो । पछिल्ला राजनीतिक घटनाक्रमले मधेश प्रदेशको सत्ता समीकरण फेरिने सम्भावना बलियो बनेको छ ।





