सर्लाही – आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा सर्लाहीका एक जनासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका – ९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका–२ घर भएका ३९ वर्षीय विजयकुमार यादव, बागलुङ काठेखोला गाउँपालिका–३ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–११ बस्ने २२ वर्षीय सन्दीप थापा मगर, काठमाडौं महानगरपालिका–३ बस्ने ४३ वर्षीय निरबहादुर कार्की, काठमाडौं चन्द्रागिरी नगरपालिका–५ बस्ने ३७ वर्षीय चिरन्जीवी अधिकारी तथा रामेछाप लिखु तामाकोसी गाउँपालिका–१ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ३० वर्षीय प्रवेश गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार सन्दीपले माल्टा पठाइदिने भन्दै एक जनाबाट १२ लाख रुपैयाँ ठगी गरेको आरोप छ । निरबहादुरले क्रोएसिया पठाइदिने भन्दै आठ जना पीडितबाट दुई लाख २५ हजार रुपैयाँ असुलेको आरोप लागेको छ ।
त्यस्तै, विजयकुमार यादवले कतार पठाइदिने भन्दै एक जनाबाट दुई लाख २० हजार रुपैयाँ लिएको, चिरन्जीवी अधिकारीले क्यानडा पठाइदिने भन्दै तीन जनाबाट ३० लाख रुपैयाँ ठगी गरेको तथा प्रवेश गुरुङले मकाउ पठाइदिने भन्दै एक जनाबाट पाँच लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।





