एम्बुलेन्समा लुकाएर ल्याइँदै गरेको १४८ केजी गाँजासहित दुई भारतीय पक्राउ

२०८३ बैशाख २३, बुधबार १३:१४
सांकेतिक तस्बिर

सर्लाही – सुनसरीको बराहक्षेत्र नगरपालिका – २ पुलठ्ठे गैडाबाट ठूलो मात्रामा लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा एम्बुलेन्स चालक भारत बिहारको सुपौल जिल्ला बिरपुर निवासी १८ वर्षीय धर्मेन्द्र कुमार यादव र २१ वर्षीय मोहमद सदाम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बराहक्षेत्र चतराबाट खटिएको टोलीले चतराबाट तेह्रआर्डी तर्फ आउँदै गरेको बीआर ०७ पीसी ४७६५ नम्बरको भारतीय एम्बुलेन्सलाई चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरी टोली देखेपछि एम्बुलेन्स भाग्ने प्रयास गरे पनि घेरा हालेर नियन्त्रणमा लिइएको थियो। त्यसपछि गरिएको खानतलासीमा सवारी साधनभित्र प्लास्टिकका बोरामा लुकाइ राखिएको अवस्थामा १४८ किलो गाँजा फेला परेको प्रहरीको भनाइ छ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार