जनकपुरधाम क्षेत्र ‘संरक्षित स्मारक क्षेत्र’ घोषणा हुँदै

२०८३ बैशाख २४, बिहीबार १०:१५
file image

सर्लाही – धनुषाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जनकपुरधाम क्षेत्रलाई ‘संरक्षित स्मारक क्षेत्र’ घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । पुरातत्व विभागले रामजानकी मन्दिर परिसर तथा आसपासका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक तयारी सुरु गरेको जनाएको हो ।

विभागका अनुसार जनकपुर क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानलाई दीर्घकालसम्म सुरक्षित राख्ने उद्देश्यले संरक्षित स्मारक क्षेत्र घोषणा गर्न लागिएको हो । यसका लागि विज्ञ, स्थानीय तह तथा सरोकारवाला निकायबीच छलफल तथा समन्वयलाई तीव्र बनाइएको छ ।

पुरातत्व विभागका प्रवक्ता सन्दीप खनालले संरक्षित क्षेत्र घोषणासम्बन्धी प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सम्पदा संरक्षण, क्षेत्र निर्धारण तथा आवश्यक कागजात संकलनको काम जारी रहेको छ ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको प्रारम्भिक छलफलपछि सम्पदा संरक्षण शाखा प्रमुख देवेन्द्र भट्टराईको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । समितिले जनकपुरधाम क्षेत्रमा स्थलगत अनुगमन तथा सम्पदाको अभिलेखीकरणको काम गरिरहेको छ ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले जनकपुरधामभित्र रहेका धार्मिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित संरक्षित क्षेत्र घोषणा प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँले यस अभियानमा जनकपुरधाम उपमहानगरपालिका, बृहत्तर जनकपुर क्षेत्र विकास समिति तथा स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

हाल जनकपुरधामका मठ, मन्दिर, पोखरी, कुटी तथा मस्जिदहरूको विवरण संकलन र सूचीकरण कार्य भइरहेको विभागले जनाएको छ । गंगासागर, राम मन्दिर, रत्नसागर, जानकी मन्दिर तथा कुमेश्वर सत्तललगायतका सम्पदालाई संरक्षण सूचीमा समावेश गर्ने कामसमेत अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार