उच्च अदालत जनकपुरमा भोलि न्यायिक महोत्सव मनाइँदै

२०८३ बैशाख २५, शुक्रबार २०:२१

सर्लाही – उच्च अदालत जनकपुर ले कानुन दिवसको अवसरमा भोलि शनिबार पहिलोपटक ‘न्यायिक महोत्सव’ आयोजना गर्ने भएको छ । न्याय प्रणालीबारे नागरिकलाई जानकारी गराउने तथा अदालत र सर्वसाधारणबीच प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको अदालतले जनाएको छ ।

अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर का अनुसार कार्यक्रम बिहान ७ बजे प्रभातफेरिबाट सुरु हुनेछ । त्यसपछि बिहान ९ बजेदेखि जनकपुरधामस्थित निधि भवन मा औपचारिक कार्यक्रम सञ्चालन गरिनेछ । दिउँसो १ बजेदेखि विभिन्न अन्तर्क्रिया तथा संवाद कार्यक्रम आयोजना गरिने अदालतले जनाएको छ ।

महोत्सवअन्तर्गत न्यायाधीशसँग प्रत्यक्ष संवाद, कानुनी सचेतनामूलक कार्यक्रम, न्यायिक प्रक्रियासम्बन्धी प्रदर्शनी तथा विभिन्न सूचना तथा सेवामूलक स्टल राखिनेछन् । कानुन अध्ययनरत विद्यार्थीहरूले न्यायाधीशसँग प्रत्यक्ष छलफल गरी अदालतको कार्यप्रणाली, न्याय सम्पादन प्रक्रिया तथा व्यावहारिक अनुभवबारे जानकारी लिन सक्ने व्यवस्था गरिएको अदालतले जनाएको छ ।

त्यस्तै, कानुन व्यवसायी, स्थानीय तहका न्यायिक समिति तथा अदालतबीच समन्वय र न्यायिक सुधारका विषयमा समेत छलफल हुने कार्यक्रम तय गरिएको छ । महोत्सवमा विभिन्न कानुन क्याम्पसका शैक्षिक स्टल, सरकारी निकायका जानकारीमूलक स्टल तथा कानुनी पुस्तक प्रदर्शनीसमेत राखिने जनाइएको छ ।

यसैबीच, अदालतले चालु आर्थिक वर्षको वैशाख २४ गतेसम्म ५ हजार ६ सय ५१ मुद्दामध्ये ३ हजार १ सय १५ मुद्दा फर्छ्योट गरेको तथ्यांक सार्वजनिक गरेको छ । अदालतका अनुसार हाल २ हजार ५ सय ३६ मुद्दा बाँकी रहेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार