सर्लाही – पर्साको वीरगञ्जस्थित विभिन्न क्यासिनोमा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच भारतीय नागरिकसहित छ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा शनिबार प्रहरीले छ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

पक्राउ पर्नेहरुमा भारतको बिहार राज्यका गणेश कुमार, सन्दीप कुमार, सुरज प्रसाद, अल्लाह यादव र ओमप्रकाश यादव रहेका छन्। साथै वीरगञ्ज महानगरपालिका–३२ का जमुदिन मियाँ अन्सारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त टोलीले किंग्स क्यासिनो, फर्चुन सिटी गेमिङ क्लब तथा क्यासिनो माजोङमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट केही नगद रकम र दुई थान मोबाइल बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





