पर्सामा लागुऔषध खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटसहित ८ जना पक्राउ

२०८३ बैशाख २८, सोमबार ०७:४८
साङ्केतिक तस्बिर

सर्लाही – पर्सामा प्रहरीले चलाएको “लागुऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान” अन्तर्गत पछिल्लो दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका – १६ स्थित शङ्कराचार्य गेट चेकपोष्टमा भारतबाट नेपाल प्रवेश गर्ने पैदलयात्री तथा सवारीसाधनमाथि गरिएको जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीले भारतको रक्सौलबाट नेपालतर्फ आएका व्यक्तिहरूको साथबाट खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेट बरामद गरेको जनाएको छ। पक्राउ परेकामध्ये ठेगाना नखुलेका विकासकुमार साह र कविन पराजुलीको साथबाट ६००/६०० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट पनि सानो परिमाणमा खैरो हिरोइन तथा अन्य लागुऔषधजन्य ट्याब्लेट बरामद गरिएको बताइएको छ।

पक्राउ परेका सबैमाथि जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएको मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार