सम्बादाता, मलंगवा – सर्लाहीबाट हज यात्रामा जान लागेका ४२ जना हजयात्रीलाई आइतबार विदाई गरिएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का मदिना प्रस्थान गर्न लागेका हजयात्रीहरूलाई सदरमुकाम मलंगवामा आयोजित विशेष कार्यक्रममार्फत सम्मानपूर्वक बिदाइ गरिएको हो ।

यस वर्ष जिल्लाबाट २० जना महिला र २२ जना पुरुष गरी कुल ४२ जना हज यात्रामा जाने भएका छन् । कार्यक्रममा सहभागी मुस्लिम समुदायका अगुवा, समाजसेवी तथा स्थानीयवासीहरूले हजयात्रीहरूलाई फुलमाला लगाएर शुभकामना दिएका थिए ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. अब्दुल रहिम मिकरानी, पत्रकार अनवर अहमद लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा हजयात्रीहरूको सफल, सुरक्षित र अर्थपूर्ण यात्राको कामना गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले हज यात्रा केवल धार्मिक आस्था र विश्वासको विषय मात्र नभई आपसी सद्भाव, अनुशासन र अन्तर्राष्ट्रिय स्तरमा नेपाली मुस्लिम समुदायको पहिचान उजागर गर्ने अवसरसमेत भएको बताएका थिए ।
विदाई कार्यक्रममा सहभागीहरूले हजयात्रीहरूलाई सम्मानपूर्वक विदा गर्दै उनीहरूको यात्रा सफल र मंगलमय होस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए ।





