सर्लाही – घुस रकमसहित पक्राउ परेका नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कञ्चनपुर सप्तरीका प्रमुख महेन्द्रकुमार दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चार्जिङ स्टेशन सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरी विद्युत लाइन उपलब्ध गराइदिने प्रयोजनमा सेवाग्राहीसँग घुस मागिएको उजुरीपछि इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । उनी सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।

अनुसन्धानमा चार्जिङ स्टेशनका लागि आवश्यक प्रक्रिया पूरा भइसके पनि दासले विद्युत लाइन उपलब्ध गराउने नाममा सेवाग्राहीसँग रकम माग्दै बार्गेनिङ गरेको खुलेको आयोगले जनाएको छ ।
त्यस्तै, उनले घुस नदिए विद्युत लाइन काटिदिने धम्कीसमेत दिएको पाइएको छ । पछि सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ असुलिएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा अघि बढाइएको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बराबर १ लाख ४० हजार रुपैयाँ कायम गर्दै कैद तथा जरिवानाको मागसहित सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।





