सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दोस्रोपटक प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यही जेठ १ गते शुक्रबार दिउँसो १ बजे विश्वासको मत लिने निर्णय गरेको हो ।
मुख्यमन्त्री यादवका अनुसार सोही बैठकले प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । उक्त बैठकमा विश्वासको मतसँगै आगामी नीति तथा कार्यक्रम र बजेटसम्बन्धी प्रस्तुति पनि गर्ने तयारी गरिएको छ ।

मधेश प्रदेश मा पाँच दलीय गठबन्धनको सरकार सञ्चालन भइरहेका बेला सीके राउत नेतृत्वको जनमत पार्टी ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव पुनः विश्वासको मत लिन बाध्य भएका हुन् । जनमत पार्टीले गत वैशाख २२ गते सरकारबाट समर्थन फिर्ता लिएको थियो ।
१०७ सदस्यीय प्रदेशसभामा हाल १०० जना सदस्य कायम रहेका छन् । वर्तमान सत्ता गठबन्धनमा नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपाल (सभामुख बाहेक) का १७, नेकपा (एमाले) का १४ तथा लोकतान्त्रिक समाजवादी पार्टीका ८ जना प्रदेशसभा सदस्य रहेका छन् ।
सरकार टिकाउन आवश्यक ५४ मतमध्ये हाल मुख्यमन्त्री यादवलाई ६१ जना सांसदको समर्थन रहेको दाबी गरिएको छ, जसले उनलाई विश्वासको मत प्राप्त हुने अपेक्षा गरिएको छ ।





