सर्लाही – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा हिजो (सोमबार) सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको (एसईई) को नतिजामा ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड गरेका छन् । गत वर्षको तुलनामा ४.१७ प्रतिशतले सुधार भएको छ ।
कुल ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड अर्थात् उत्तीर्ण भएका छन् । भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थीहरू ‘नन—ग्रेडिङ’ मा परेका छन् । सार्वजनिक नतिजाअनुसार २.८ देखि ३.२ जीपीए ल्याउने ९४ हजार २२२ विद्यार्थी रहेका छन् ।

यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने ८० हजार ३७२, ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२, २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन् ।
त्यस्तै, २ देखि २.४ जीपीए ल्याउने ५ हजार १९०, १ देखि २ जीपीए ल्याउने विद्यार्थी रहेको परीक्षा बोर्डले जनाएको छ । त्यसैगर, प्रदेशगत रूपमा कोशी ५० हजार ८९० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस्तै, मधेश ४४ हजार ५९२ जना, बागमती ७७ हजार ११३ जना, गण्डकी २६ हजार ५५० जना, लुम्बिनी ४४ हजार २५६जना, कर्णाली १९ हजार ०९५ जना र सुदूर पश्चिम २१ हजार ६६४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
पुरक परीक्षा असार १ गतेदेखि
माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असार १ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति नतिजा सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गते सोमबारदेखि ९ गतेसम्म हुने जनाएको हो।
बोर्डका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । नतिजा अनुसार एसइईमा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन् ।





