सर्लाही – महोत्तरी र रौतहटमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
महोत्तरीको गौशाला नगरपालिका – ४ ठाकुर पोखरीनजिक सोमबार राति बीआर ३० यु ४४९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक गौशाला नगरपालिका – ३ नवराजपुर निवासी २५ वर्षीय सुवेश कुमार यादव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नगर अस्पताल गौशालामा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, रौतहटको परोहा नगरपालिका – ६ कोप्वामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । सोमबार राति भएको दुर्घटनामा बीआर ०५ एएच २८७७ नम्बरको मोटरसाइकलमा सवार परोहा नगरपालिका–३ तेजापाकड निवासी २२ वर्षीय सुरेन्द्र पासवान गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका बा. ८१ प ६४४८ नम्बरको मोटरसाइकलमा सवारमध्ये एक जनाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ भने अर्का एक जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।
त्यसैगरी, रौतहटकै कटहरिया नगरपालिका – ४ बहादुरपुरमा मोटरसाइकलबाट लडेर फतुवा विजयपुर नगरपालिका–५ गमहरिया निवासी ३८ वर्षीया रिंकुदेवी ठाकुरको मृत्यु भएको छ । कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको म.प्र.०२–०३–११ प ३५०८ नम्बरको मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी ठाकुरको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।





