मलंगवा – सर्लाहीको गोडैता नगरपालिका – ६ बग्दहस्थित चिनिमिल नजिक हुलाकी सडकखण्डको छेउमा सडेगलेको अवस्थामा फेला परेको शवको तीन दिनपछि सनाखत भएको छ।
गत वैशाख २७ गते साँझ करिब ४ः३० बजे सडक छेउमा अन्दाजी ४५ वर्षका पुरुषको शव फेला परेको सूचना पाएपछि प्रहरी चौकी गोडैताबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। शव सडेगलेको अवस्थामा रहेकाले तत्काल मृतकको पहिचान खुल्न सकेको थिएन।

घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीको नेतृत्वमा सोको टोलीसमेत खटिएर अनुसन्धान अघि बढाइएको थियो। प्रहरीका अनुसार वैशाख २९ गते साँझ करिब ५ बजे मृतकको सनाखत भएको हो।
मृतक सर्लाहीको बलरा नगरपालिका – ६ निवासी अन्दाजी ६२ वर्षीय तेज हजारी रहेको खुलेको छ। मृतकका छोरा शिवराज हजारीले शवको सनाखत गरेका हुन्। पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि परिवारले शव बुझेर अन्त्येष्टिका लागि लगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





