मलंगवा – सर्लाहीको रामनगर गाउँपालिका – ५ स्थित बैजनाथ चोकमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
बरहथवाबाट गडहियातर्फ जाँदै गरेको ज.७ प. २६१३ नम्बरको मोटरसाइकल गएराति करिब ८ बजे अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक भारतको सितामढी जिल्ला ग्राम पञ्चायत ढेग निवासी अन्दाजी ३५ वर्षीय गौरव पटेल गम्भीर घाइते भएका थिए।

उनको टाउको, अनुहार तथा कानमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकामा उपचारकै क्रममा राति ८ः४३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकलको पछाडि सवार सोही स्थानका २३ वर्षीय उज्वल पटेल मध्यम घाइते भएका छन्। उनलाई थप उपचारका लागि भारतको सितामढी लगिएको प्रहरीले जनाएको छ। हाल उनको सितामढीस्थित बैजनाथ नर्सिङ होमको आईसियुमा उपचार भइरहेको बताइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी निरीक्षक कैलाश चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





