भारतको उत्तर प्रदेशमा भीषण आँधी: ५४ जनाको मृत्यु

२०८३ बैशाख ३१, बिहीबार ०९:५३

सर्लाही – भारतको उत्तर प्रदेशमा बुधबार राति आएको शक्तिशाली आँधी र मुसलधारे वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्राकृतिक विपत्तिका कारण कम्तीमा ५४ जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।

आँधीबाट सबैभन्दा बढी प्रभावित प्रयागराज, भदोही र मिर्जापुर जिल्ला बनेका छन्। प्रयागराजमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने भदोहीमा १५ र मिर्जापुरमा १० जनाले ज्यान गुमाएका छन्।

भदोही जिल्लामा मात्रै ८ जना गम्भीर घाइते भएको जनाइएको छ। तीमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेपछि थप उपचारका लागि वाराणसीस्थित बनारस हिन्दू विश्वविद्यालय अस्पताल पठाइएको छ।

तीव्र गतिको हावाहुरीले सयौँ रूख ढालेको छ भने विद्युत्का पोलहरू समेत क्षतिग्रस्त बनेका छन्। धेरै कच्ची घर भत्किँदा मानिसहरू च्यापिएर तथा रूखले किचेर मृत्यु भएको बताइएको छ। आँधीले पशुचौपायामा समेत ठूलो क्षति पुर्‍याएको छ। भदोहीमा मात्रै १६ भन्दा बढी चौपाया मरेका छन्।

घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

आँधीपछिको क्षतिका कारण विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ भने उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार