सबैभन्दा बढी बेरुजु मधेश प्रदेशमा

२०८३ जेष्ठ १, शुक्रबार २०:२८

सर्लाही – आर्थिक वर्ष २०८१/८२ मा सातै प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेश प्रदेशमा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार मधेश प्रदेशको बेरुजु प्रतिशत ३.७७ पुगेको हो ।

प्रतिवेदनअनुसार मधेश प्रदेशका १ सय ५० कार्यालयको ४९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १ अर्ब ८७ करोड रुपैयाँ बराबरको बेरुजु फेला परेको छ । यो रकम कुल लेखा परीक्षणको ३.७७ प्रतिशत हुन आउँछ, जुन सातै प्रदेशमध्ये उच्च हो ।

महालेखा परीक्षकको कार्यालयले बेरुजु बढ्नु आर्थिक अनुशासन कमजोर हुनु, खर्च प्रक्रियामा पारदर्शिता अभाव हुनु तथा नियमअनुसार खर्च पुष्टि गर्न नसक्नुजस्ता कारणसँग जोडिएको जनाएको छ ।

यता, सबैभन्दा कम बेरुजु भने बागमती प्रदेशमा देखिएको छ । बागमतीका २ सय ९ कार्यालयको ८३ अर्ब १५ करोड रुपैयाँको लेखा परीक्षण गर्दा ६९ करोड ३७ लाख रुपैयाँ बेरुजु देखिएको छ । यो कुल परीक्षण रकमको ०.८३ प्रतिशत मात्रै हो ।

अन्य प्रदेशमध्ये कर्णालीको बेरुजु २.०८ प्रतिशत, सुदूरपश्चिमको १.५३ प्रतिशत, लुम्बिनीको १.२७ प्रतिशत, कोशीको १.१२ प्रतिशत तथा गण्डकी प्रदेशको बेरुजु पनि उल्लेख्य देखिएको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार