सर्लाही – यातायात व्यवस्था कार्यालय जनकपुरधाम परिसरबाट प्रहरीले तीन जना बिचौलियालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका – २ का २२ वर्षीय अंकितकुमार साह, सर्लाहीको गोडैता नगरपालिका – ६ निवासी ३० वर्षीय चिन्टुकुमार सिंह र धनुषाधाम नगरपालिका – ३ का २१ वर्षीय राजेश साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यातायात कार्यालयमा सेवा लिन आउने नागरिकलाई अनावश्यक रूपमा अल्झाएर आर्थिक फाइदा उठाउने प्रयास भइरहेको भन्ने गोप्य सूचनापछि प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा शुक्रबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

कार्यालय आसपास सेवाग्राहीलाई प्रभावित पार्ने तथा काम छिटो गराइदिने प्रलोभन देखाएर रकम असुल्ने गतिविधि बढिरहेको सूचनाका आधारमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेशबहादुर बमले बताए। प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।





