काठमाडौंमा चक्कु प्रहार गरी महोत्तरीका युवक हत्या

२०८३ जेष्ठ ३, आईतवार ०९:३१
सांकेतिक तस्बिर

सर्लाही – काठमाडौंमा घरायसी विवादका क्रममा चक्कु प्रहार हुँदा महोत्तरीका एक युवकको मृत्यु भएको छ।

काठमाडौंको महानगर नजिकै पर्ने चन्द्रागिरि नगरपालिका – ३, थानकोट खरिबोटमा भएको घटनामा महोत्तरी घर भएका २५ वर्षीय जाकिर मन्सुरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महोत्तरी घर भई हाल थानकोट बस्दै आएका ३८ वर्षीय समी अहमदले आफ्नै सालो नाता पर्ने मन्सुरीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका थिए। घरायसी विवाद चर्किँदै जाँदा भएको झगडामा अहमदले चक्कु प्रहार गर्दा मन्सुरी गम्भीर घाइते भएका थिए।

गम्भीर अवस्थामा रहेका मन्सुरीलाई तत्काल उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा गएराति साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए।

घटनामा संलग्न अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार