सर्लाही – सिरहामा प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोलबजार नगरपालिका – ३ का सरोज विक र राजु लामा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रहरी चौकी खिरौनाबाट खटिएको टोलीले सिरहा नगरपालिका – १४ क्षेत्रमा माडरतर्फबाट सिरहातर्फ आउँदै गरेको ज.४ प. १३८८ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक सरोज विकको साथबाट प्लास्टिकसहित ४३७ मिलिग्राम तथा प्लास्टिकबाहेक २०० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी, पछाडि सवार राजु लामाको साथबाट प्लास्टिकसहित ६ ग्राम २१० मिलिग्राम तथा प्लास्टिकबाहेक ५ ग्राम १०० मिलिग्राम लागुऔषध बरामद गरिएको हो।
प्रहरीले पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको छ। घटनामा प्रयोग गरिएको मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा राखिएको बताइएको छ।





