नक्कली कागजात बनाएर जग्गा पास गराउने तीन जना प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५, मंगलवार १९:४६
साङ्केतिक तस्बिर

सर्लाही – सिरहाको मालपोत कार्यालयमा फर्जी कागजातको प्रयोग गरी जग्गा पास गराउने गिरोह सक्रिय रहेको आशंकाबीच प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा एक जना लेखनदास, श्रीराम भूसेवा केन्द्रका कर्मचारी तथा एक जना स्टुडियो सञ्चालक रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले नक्कली कागजात तयार गरेर मालपोत कार्यालयमार्फत जग्गाको स्वामित्व हस्तान्तरण गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शंकास्पद रूपमा भइरहेको जग्गा किनबेच र कीर्ते कागजात प्रयोग भइरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डिएसपी रमेशबहादुर पालले पक्राउ परेका व्यक्तिमाथि कीर्ते कागजात तयार गरी त्यसकै आधारमा जग्गा पास गराएको आरोप लागेको बताए। उनका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रहरीले पक्राउ परेकाहरूको नाम भने अनुसन्धान प्रभावित हुन सक्ने भन्दै सार्वजनिक गरेको छैन। पछिल्लो समय सिरहामा फर्जी कागजात बनाएर जग्गा हडप्ने, नामसारी गर्ने तथा मालपोत कार्यालयको प्रक्रियामै चलखेल हुने घटनाहरू बढ्दै गएको चर्चा भइरहेका बेला यो घटनाले थप तरंग पैदा गरेको छ।

यस प्रकरणमा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने आशंकासहित प्रहरीले अनुसन्धानलाई थप तीव्र बनाएको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार