सर्लाही – मधेस प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा निकै कमजोर रहने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत तथ्याङ्क समन्वय कार्यालय धनुषाले बुधबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी समष्टिगत आर्थिक सूचकअनुसार मधेसको आर्थिक वृद्धि दर एक दशमलव ३१ प्रतिशतमा सीमित हुने देखिएको हो ।

कार्यालयका अनुसार पर्याप्त वर्षा नहुँदा धान उत्पादनमा गिरावट आएको छ भने मत्स्य तथा वन क्षेत्रसमेत प्रभावित बनेका छन् । यी क्षेत्रबाट अपेक्षित योगदान नआउँदा समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको जनाइएको छ ।
तथ्याङ्क अधिकृत नरबहादुर कुँवरले पछिल्ला तीन वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर यस वर्ष रहने बताए । उनका अनुसार कृषि उत्पादनमा लगातार देखिएको समस्याले प्रदेशको आर्थिक गतिविधि सुस्त बनाएको हो ।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशको आर्थिक वृद्धि दर तीन दशमलव १८ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा दुई दशमलव ७२ प्रतिशत रहेको थियो । तर, पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा परेको नकारात्मक असरका कारण वृद्धि दर क्रमशः घट्दै गएको कार्यालयले जनाएको छ ।
प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा मधेस प्रदेशको योगदान १३ दशमलव एक प्रतिशत रहनेछ । तथ्याङ्क सार्वजनिक कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले कृषिको योगदान घट्दै जानु प्रदेशको आर्थिक सुस्तताको मुख्य कारण भएको बताए ।
उनले आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखिने जानकारी दिए ।





